दफा १२
सञ्चालक सम्बन्धी व्यवस्था
(१) वस्तु विनिमय बजारमा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक सहित बढीमा सात जना सञ्चालक रहनेछन् ।
(२) सञ्चालकको योग्यता देहाय बमोजिम हुनेछः–
(क) अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको,
(ख) पैँतीस वर्ष उमेर पूरा गरेको, र
(ग) तोकिए बमोजिमको अयोग्यता नरहेको ।
(३) सञ्चालकको नियुक्ति गर्दा सम्भव भएसम्म उपदफा (२) को खण्ड (क) मा उल्लिखित फरक फरक विधाको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।
(४) स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रयोजनको लागि वस्तु विनिमय बजारले रिक्त स्वतन्त्र सञ्चालकको संख्याको तेब्बर संख्यामा सम्भाव्य उम्मेदवारको नामावली सिफारिश गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम पेश भएका सम्भाव्य उम्मेदवारहरु मध्येबाट उपयुक्त उम्मेदवारलाई बोर्डले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।